स्याङ्जाको खानेपानीमा अत्यधिक ‘कोलीफर्म’

स्याङ्जा स् जिल्लाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ। सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमुना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अत्यधिक मात्रामा भेटिएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना स्रकलन गरी परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो। कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा आठ–आठ, बिरुवा र गल्याङ्मा छ–छ, अर्जुनचौपारीमा पाचँ, फेदीखोला र हरिनासमा चार–चार खानेपानीका नमुना संकलन गरी परीक्षण गरेको थियो।
‘मुहान, ट्याङ्की, धारा र घरबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा हुने कोलीफर्मको किटाणु अत्यधिक मात्रा पाइएको छ प्रमुखको भनाइ छ। यस्तै सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराबाट समेत पानीका नमुना परीक्षण गरिएको थियो।
सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६।६ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१।२५ प्रतिशत कोलीफर्म भेटिएको छ। चापाकोट नगरपालिकामा ६२।६, फेदीखोला र हरिनास गाउँपालिकामा ५०।५०, भिरकोट नगरपालिकामा ४६।१, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माले जानकारी दिइन्। यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७।५ प्रतिशत कोलीफर्मका कीटाणु भेटिएको थियो।
प्रमुख शर्माका अनुसार ले गत वर्षको तुलनामा यस वर्ष पानीको शुद्धतामा केही प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ नमूना परीक्षण गरिएकामा ५२ प्रतिशत कोलीफर्म भेटिएको थियो। कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि असर गर्छ।
तपाईको कमेन्ट लेख्नुहोस्