कांग्रेस अछामको जिल्ला सभापतिमा यज्ञप्रसाद ढकालको उम्मेदवारी घोषणा
अछाम — नेपाली कांग्रेस अछामको आसन्न नियमित जिल्ला अधिवेशनलाई लक्षित गर्दै काङ्ग्रेस नेता यज्ञप्रसाद ढकालले जिल्ला सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
हाल कमलबजार नगरपालिकाका नगर प्रमुख समेत रहेका ढकाल नेपाली कांग्रेसका नेता कार्यकर्तामाझ निकै लोकप्रिय नेताका रूपमा परिचित छन् । हाल महाधिवेशन प्रतिनिधिसमेत रहेका ढकालले पार्टीको गौरवशाली इतिहास, लोकतान्त्रिक मूल्य–मान्यता र सङ्गठनात्मक सुदृढीकरणप्रतिको प्रतिबद्धतासहित सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै ढकालले आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा समूहविरुद्ध नभई पार्टीभित्र एकता, सहकार्य, परिवर्तन र सङ्गठनात्मक रूपान्तरणका पक्षमा केन्द्रित रहने बताएका छन् ।
पार्टीलाई गुट–उपगुटभन्दा माथि उठाउँदै सबै नेता, कार्यकर्ता, अग्रज र युवालाई समान सम्मान तथा अवसर प्रदान गर्ने संस्कारको विकास गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।
गाउँदेखि जिल्लासम्म पार्टी सङ्गठनलाई गतिशील बनाउने, युवाको क्षमता र अग्रजको अनुभवलाई नेतृत्वमा जोड्ने, कार्यकर्ताको आत्मसम्मानको रक्षा गर्ने तथा जनतासँग पार्टीको सम्बन्ध अझ सुदृढ बनाउने आफ्नो प्रमुख उद्देश्य रहेको ढकालले उल्लेख गरेका छन् ।
‘म पदका लागि होइन, जिम्मेवारीका लागि उम्मेदवार बन्ने सङ्कल्पसहित अघि बढेको छु,’ उनले उम्मेदवारी घोषणामार्फत भनेका छन्, ‘व्यक्तिभन्दा विचार, गुटभन्दा पार्टी र स्वार्थभन्दा सङ्गठनलाई प्राथमिकतामा राखेर अघि बढ्नेछु ।’
उनले आफ्नो उम्मेदवारी अभियानमा पार्टीका अग्रज नेता, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक तथा अधिवेशन प्रतिनिधिहरूको साथ, सहयोग, सुझाव र समर्थनको अपेक्षासमेत गरेका छन् ।
कमलबजार नगरपालिकाको नेतृत्व गरिरहेका ढकालको जिल्ला सभापतिमा उम्मेदवारी घोषणासँगै नेपाली कांग्रेस अछामको आगामी मंसिर ११ गते हुने जिल्ला अधिवेशनमा नेतृत्व चयनको राजनीतिक सरगर्मी थप बढ्ने देखिएको छ ।
ताजा खबर
- १विकास बजेट स्थानीय रोजगारीसँग जोड्न रास्वपा कमलबजारको माग
- २कांग्रेस अछामको जिल्ला सभापतिमा यज्ञप्रसाद ढकालको उम्मेदवारी घोषणा
- ३बझाङमा अटो पल्टिँदा तीन जनाको ज्यान गयो
- ४प्रथम विनोद स्मृति भलिबल कपको उद्घाटन एमाले प्रमुख सचेतक महरले गर्ने
- ५जिल्ला सभापतिमा निर्वाचित भए जनप्रतिनिधिको चुनाव नलड्ने काँग्रेस नेता तिमिल्सैनाको घोषणा

















तपाईको कमेन्ट लेख्नुहोस्