Techie IT
Agni Khabar

विकास बजेट स्थानीय रोजगारीसँग जोड्न रास्वपा कमलबजारको माग


कमलबजार, अछाम

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कमलबजार नगर समितिले विकास निर्माणका काममा स्थानीय श्रम, स्रोत र रोजगारीलाई प्राथमिकता दिन जनप्रतिनिधिहरूसँग सार्वजनिक आग्रह गरेको छ।

नगर समितिले कमलबजार नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूलाई विकास बजेट कार्यान्वयन गर्दा स्थानीय जनशक्तिको प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको हो।

समितिले यसअघि नै ट्र्याक खोलिएका सडकको सामान्य मर्मत तथा सुधारका काममा अनावश्यक रूपमा डोजर र जेसीबी प्रयोग नगरी स्थानीय जनश्रममार्फत काम गराउन आग्रह गरेको छ। साथै, श्रम गर्ने स्थानीय नागरिकलाई नियमानुसार ज्याला उपलब्ध गराउनुपर्नेमा समेत समितिले जोड दिएको छ।

विकास बजेटको नाममा अनावश्यक मेसिन प्रयोग, बजेटको दुरुपयोग तथा आर्थिक वर्षको अन्त्यमा हुने खर्चमुखी प्रवृत्तिमाथि निगरानी गर्ने समितिले जनाएको छ। यसका लागि नगर समितिले आफ्ना सदस्यहरूलाई समेत आ–आफ्नो वडामा विकास निर्माणका कामको सहजीकरण तथा निगरानी गर्न निर्देशन दिएको छ।

नगर सभापति बालाराम ढकालले स्थानीय स्रोत, स्थानीय श्रम र नागरिकको रोजगारीलाई विकासको पहिलो प्राथमिकता बनाउनुपर्ने बताएका छन्।

विकास निर्माणका कामले भौतिक पूर्वाधारको विस्तारसँगै स्थानीय नागरिकको आयआर्जन र रोजगारीमा समेत योगदान पुर्‍याउनुपर्ने समितिको माग छ।




तपाईको कमेन्ट लेख्नुहोस्