यसपालि मनसुन शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा, आज हिजो अस्तिको भन्दा कम पानी पर्ने अनुमान
यसपालि मनसुन शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको छ । अस्तिरातिदेखि हिजोसम्म देशभर वर्षा भएको थियो ।
यसअघि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो ।
यसपालि गएको जेठ ३१ गते पूर्वी क्षेत्र हुँदै मनसुन नेपाल भित्रिएको थियो ।
मनसुनको शुरुवातमा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति हुने गरी केही दिन ठूलो पानी परेको थियो भने भित्रिएको १० दिनपछि मात्रै मनसुन देशभर सक्रिय भएको थियो ।
यसबीचमा पहाडी क्षेत्रमा पानी परिरहे पनि तराई मधेशमा पर्न सकेको थिएन । तर, अस्ति रातिदेखि हिजोसम्म मधेश प्रदेशसहित देशभर पानी परेको छ ।
वर्षाका कारण तराई मधेशमा डुबानसमेत भएका छन् । यस्तै, बाढी समेत आयो ।
पहाडी जिल्लामा पनि बाढी पहिरोले नोक्सानी गरेको छ । पहिरोमा परेर मकवानपुर, सर्लाही र धुनषामा गरी चार जनाको ज्यान गएको छ ।
सात जना बेपत्ता छन् । त्यस्तै सर्लाहीमा दुई र मकवानपुर तथा धनुषमा एक एक जनाको ज्यान गएको हो ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।
आज अस्तिराति र हिजोको जस्तो लगातार ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँको भनाइ छ । तर, बाढी पहिरोको जोखिम भने कायमै छ ।
हिजो र अस्तिको पानीले गलेका जमिनमा पहिरोको जोखिम रहेको र नदी तथा खेलामा पनि जलसतह बढेकाले मध्यम वर्षा हुँदा पनि बाढी आउन सक्ने हुँदा सचेत रहन मौसमविद्को आग्रह छ ।
तपाईको कमेन्ट लेख्नुहोस्