आप्रवासी चढेको डुंगा भूमध्य सागरमा डुब्दा ४१ जनाको मृत्यु, युरोप छिर्न चाहन्थे उनीहरू

आप्रवासी चढेको डुंगा भूमध्य सागरमा डुब्दा ४१ जनाको मृत्यु भएको छ ।
इटालीको स्वामित्वमा रहेको लाम्पेदुसा टापुनजिकै भूमध्य सागरमा डुंगा दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको हो । अन्य चार जना भने बाँच्न सफल भएका छन् ।
बीबीसीका अनुसार ट्युनिसियाको समुद्री क्षेत्रबाट आइभोरिकोस्ट र गिनीका आप्रवासीहरू इटाली घुस्न सकिने आशाका साथ एउटै डुंगामा चढेका थिए । मात्र ७ मिटर लामो डुंगामा ४५ व्यक्ति सवार थिए ।
मानिसको वजन थाम्न नसक्दा डुंगा दुर्घटनामा परेको बताइएको छ । यो दुर्घटनामा बाँचेका मानिसहरूका अनुसार समुद्रको एउटा सानो छालले नै डुंगा पल्टेको थियो ।
उत्तरी अफ्रिकाका आप्रवासीहरू समुद्री बाटो हुँदै युरोप घुस्न चाहन्छन् । यस वर्ष मात्रै समुद्रमा डुबेर १८ सयले ज्यान गुमाइसकेका छन् । सुखी जीवनको सपना बोकेर उनीहरू युरोप छिर्न चाहन्छन् ।
तपाईको कमेन्ट लेख्नुहोस्