संसद् नचल्नु, बार्गेनिङ मात्र चल्नु दुःखद : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नचल्ने र बार्गेनिङ मात्रै चल्ने भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
कैयौँ कानुन बनाउनुपर्ने र कैयौँ संशोधन गर्नुपर्ने तथा जनसरोकारका कैयौँ मुद्दामा छलफल गरेर निर्णय गर्नुपर्नेमा संसदमा बार्गेनिङ चलिरहेको उहाँको आरोप छ । उहाँले संसद् चल्दैन, बार्गेनिङ मात्रै चल्छ भनेर सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
यस्तै रास्वपाकै सांसद डाक्टर तोसिमा कार्कीले संसद् चल्न नदिनु भनेको सरकारले गरेका गलत कामको समर्थन गर्नु भएको दाबी गर्नुभएको छ । सरकारलाई प्रश्न सोध्ने थलो संसदसमेत चल्न नदिएर एमालेले सरकारलाई सजिलो बनाइदिएको कार्कीको भनाइ छ । एमालेले संसद् चल्न नदिएर सांसदको समयको बर्बाद गरेको, नागरिकको करको दुरुपयोग भएको र प्रश्न सोध्न पाउने अधिकारकै हनन भएको उहाँले बताउनुभएको छ ।
राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो । यही सुन काण्डमा सरकारले मात्रै छानबिन गरेर सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने माग गरेर एमालेले यही साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ ।
तपाईको कमेन्ट लेख्नुहोस्