जिल्ला सभापतिमा निर्वाचित भए जनप्रतिनिधिको चुनाव नलड्ने काँग्रेस नेता तिमिल्सैनाको घोषणा
अछाम — नेपाली काँग्रेस अछामको जिल्ला सभापतिका आकाङ्क्षी वेदप्रकाश तिमिल्सैनाले जिल्ला सभापतिमा निर्वाचित भए मेयर, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला सभापति बन्ने आफ्नो आकाङ्क्षा कुनै सार्वजनिक पदको उम्मेदवार बन्ने अवसर प्राप्त गर्न नभई पार्टीको एकता, सुदृढीकरण र सामूहिक नेतृत्वको विकासका लागि भएको स्पष्ट पार्दै तिमिल्सैनाले सभापति भएपछि कुनै पनि सार्वजनिक पदको उम्मेदवार बन्ने र त्यसका लागि आफ्नो नाम सिफारिस गराउने काम नगर्ने बताएका हुन्।
‘मेयर, प्रदेश सभा सदस्य वा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आकाङ्क्षा राखेर मैले जिल्ला सभापति बन्न खोजेको होइन,’ तिमिल्सैनाले भने, ‘यदि म नेपाली काँग्रेस अछामको जिल्ला सभापतिमा निर्वाचित भएँ भने कुनै पनि सार्वजनिक पदको उम्मेदवार बन्ने छैन र त्यसका लागि कतै पनि आफ्नो नाम सिफारिस गराउने छैन।’
द्वन्द्वपीडित परिवारका सदस्यसमेत रहेका तिमिल्सैनाले नेपाली काँग्रेसमा आबद्ध भएकै कारण आफ्नो परिवारले विस्थापित हुनुपरेको र घर लुटिएको स्मरण गरेका छन्। द्वन्द्वका क्रममा बेपत्ता भएका आफ्ना कान्छाबुवा कुइका गविसका तत्कालीन अध्यक्ष नरेन्द्रराज तिमिल्सैनाको अवस्था अहिलेसम्म अज्ञात रहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा पनि आफू र आफ्नो परिवार पार्टीप्रतिको निष्ठाबाट विचलित नभएको बताएका छन्।
‘नेपाली काँग्रेसमा आबद्ध भएकै कारण मेरो घर लुटियो, हामी विस्थापित भयौँ। कतैबाट राहत मिलेन, कसैले सोधखोज गरेन। तर पनि हामी विचलित भएनौँ,’ उनले भने।
आफू र आफ्नो परिवार वर्षौँदेखि नेपाली काँग्रेसमा दृढतापूर्वक सक्रिय रहेको उल्लेख गर्दै तिमिल्सैनाले अवसरका लागि नभई अछाम र यहाँका समुदायप्रतिको आत्मीयताका कारण जिल्ला सभापति बन्ने आकाङ्क्षा राखेको बताएका छन्।
उनले आफू व्यक्तिकेन्द्रित राजनीतिमा विश्वास नगर्ने स्पष्ट पार्दै पार्टीलाई आफूले मात्रै राम्रो बनाउन सक्छु भन्ने अहङ्कारसमेत नरहेको बताएका छन्। सामूहिक एकता, सामूहिक भावना र सामूहिक नेतृत्व नै आफ्नो राजनीतिक मान्यता भएको उनको भनाइ छ।
‘मेरो लक्ष्य पद प्राप्त गर्नु होइन, पार्टीलाई बलियो बनाउनु हो। मेरो चाहना व्यक्तिगत अवसर खोज्नु होइन, साथीहरूका लागि अवसर सिर्जना गर्नु हो,’ तिमिल्सैनाले भने, ‘म पदका लागि होइन, पार्टीको एकता, सुदृढीकरण र सामूहिक नेतृत्वको विकासका लागि जिल्ला सभापतिको जिम्मेवारी लिन चाहन्छु।’
आफू आध्यात्मिक सोच भएको व्यक्ति भएको उल्लेख गर्दै उनले पदको लोभभन्दा पार्टी र अछामको हितलाई प्राथमिकता दिने बताएका छन्। जिल्ला सभापतिको जिम्मेवारी पाएपछि व्यक्तिगत राजनीतिक अवसर खोज्नुभन्दा पार्टीलाई बलियो बनाउने र अन्य साथीहरूलाई अवसर सिर्जना गर्ने आफ्नो प्राथमिकता रहने उनको प्रतिबद्धता छ।
तिमिल्सैनाले नेपाली काँग्रेसका अग्रज नेताहरू तथा क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो भावना, विचार र प्रतिबद्धतालाई आत्मसात् गर्दै जिल्ला सभापतिको जिम्मेवारी प्रदान गर्न आग्रह गरेका छन्। पार्टीप्रतिको निष्ठा, अछामप्रतिको माया र सहकर्मीहरूका लागि अवसर सिर्जना गर्ने प्रतिबद्धतामाथि विश्वास गरेर साथ, समर्थन र सहयोग गर्नसमेत उनले सामाजिक संजाल फेसबुक मार्फत अपिल गरेका छन्।
ताजा खबर
- १जिल्ला सभापतिमा निर्वाचित भए जनप्रतिनिधिको चुनाव नलड्ने काँग्रेस नेता तिमिल्सैनाको घोषणा
- २बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै
- ३बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै
- ४भूमी प्रशासन अधिकृत अवस्थिको विदाई
- ५काङ्ग्रेस नेत्री भण्डारीले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने

















तपाईको कमेन्ट लेख्नुहोस्