Techie IT
Agni Khabar

धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया


कैलालीको धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) र एफएओको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा सुदूरपश्चिमका सामुदायिक रेडयो लगायत विभिन्न सञ्चारमाध्यमका पत्रकार, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, अकोराब र एफएओका प्रतिनिधि, युवा तथा कृषकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय,सुदूरपश्चिम प्रदेशका सूचना अधिकृत राजकुमार झा, कृषी निर्देशनालयका निमित्त कार्यालय प्रमुख टिकेन्द्र कुश्मी र कृषी ज्ञान केन्द्र कैलालीका कृषि प्रसारक अधिकृत टेक विष्टले सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रको अवस्था, कृषि क्षेत्रमा हालसम्म भएका कार्यहरु, चालु आर्थिक बर्षमा हुने कार्यहरु र कृषिमा युवाको सहभागिता बढाउन भएका प्रयासमा प्रस्तुतीकरण दिएका थिए ।

सहभागीहरुले लक्षित कृषकलाई अनुदान प्रदान गर्नुपर्ने, युवा लक्षित कार्यक्रमहरु लागु गर्नुपर्ने, कृषिलाई सम्मानित पेशामा परिणत गर्नुपर्ने, अनुदान र विमा योजनालाई सहज पहुँचयोग्य बनाउनुपर्ने लगायतका सुझाव राखेका थिए ।

भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकृत राजकुमार झाले युवा कृषकलाई व्यवसायिक रुपमा कृषिमा लगानी गर्न स्टार्टअप र कर्जा अनुदान योजना ल्याइएको बताए । कृषी निर्देशनालयका निमित्त कार्यालय प्रमुख टिकेन्द्र कुश्मीले युवा कृषकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम लागु भएको र कृषीमा शिक्षा प्राप्त युवालाई करारमा अवसर दिएको जानकारी दिए ।

कृषी ज्ञान केन्द्रका वरिष्ठ कृषी प्रसारक अधिकृत टेक विष्टले कृषिमा युवाहरुको सहभागिताले राम्रो प्रतिफल ल्याएको बताए । राज्यको यान्त्रिकरण र अनुदानले युवा कृषकलाई आकर्षित गर्दै किवी, ड्र्यागन, केरा खेती, मासु उत्पादन र तरकारी खेतीमा उल्लेखनीय प्रगति भएको उनले बताए । कैलालीकी पुष्पखेती किसान शुसिला विष्टले युवाहरुको सहभागिताले पुष्प खेतीमा आम्दानी बढेको र सरकारले विशेष अनुदान र विमा योजना ल्याउनुपर्ने बताइन् ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले सञ्चार माध्यममार्फत युवा कृषकका सफलताका कथा सम्प्रेषण गर्नुपर्ने औंल्याए । त्यस्तै  अकोराब सुदूरपश्चिम प्रदेशका अध्यक्ष बेदप्रकाश तिमिल्सिनाले सामुदायिक रेडियोमार्फत कृषिका आवाजहरु निरन्तर कृषक समक्ष पुर्याइएको र आगामि दिनहरुमा पनि अझै बुलंद पारिने उनले प्रतिबद्धता गरे ।

एफएओ नेपालका प्रतिनिधि संघर्ष भट्टराईले ७७ वटै जिल्लामा कार्यक्रम संचालनमा रहेको र सञ्चार माध्यमले युवा किसानको मेहनत देखाउन महत्वपूर्ण भुमिका खेल्ने बताए । अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रशाद देवकोटाले सामुदायिक रेडियोमार्फत कृषिका आवाज बुलंद पार्न सबैलाई आग्रह गरे ।




तपाईको कमेन्ट लेख्नुहोस्