देशले हराएको युवा : कविता

दिपक ढकाल
हिँड्दै गरेको जीवनको गोरेटोले
उसैलाई बाटो बनाई कुद्न थालेपछि नियतिको चक्र
ऊ गएको हो फर्किने आसमा
बाँधिएर पदचाप जिम्मेवारी नामको धागोमा ।
हिमचुलीको उँचाइ नापिरहेको कुहिरो जस्तै
आयुको सिमानामा लडिरहेकी वृद्ध आमा
गोठालाको नजर छल्दै
पहाडी पहरामा फुलेकी सुनाखरी (प्रिया )
भोकमरीले स्याहारेका
स्नेही सागरमा डुबुल्की मार्ने बचेरा छोडी
गएको हो बत्तिदै हावाको दिशामा ।
बचाउन इन्द्रेणीको रङ परिवारको आँखामा
जो देखिरहन्छ्न् सुन्दर सपना ,बिर्सेर आफ्नै विरक्त अतीत ,जीर्ण वर्तमान
राखेर बन्धकी
बा ’को जेथा ,आफ्नै उमेर ,आमाको ममता
प्रियाको समीप ,सन्तानको प्रेम ।
अस्तित्व बचाउन आकाश जस्तै छानोको
छोडेर गएको हो आफ्नै गुँडलाई
गुँडजस्तो बनाउन
कोर्दैछ सपनाको चित्र दिमागी क्यानभासमा
आँसु ,रगत र पसिनाको रङले ।
लगाउँदै समयको फ्रेम ।
सम्झिँदै आफ्नै विगत
च्यापेर हत्केलामा भविस्यलाई
बेचेर आफ्नै वर्तमानलाई
सम्झौता गर्न सुखको इन्द्रेणीसँग ।
बाँचिरहेको छ एउटा मान्छे तातो च्याम्बरको श्वासमा
सरकारको आवाज नपुग्ने बालुवाको शहरसम्म
पुगिरहन्छ
बलात्कृत चेलीको चित्कार
गरिबीको आर्तनाद
कमजोर बन्दै गएको राष्ट्रियता
नुनिला आँसु र रगतको गन्ध ।
मेटिदै गरेको गौरवशाली इतिहास वीरताको
सुनाइरहन्छ दुःखको समाचार बेलगाम समयले
तातो मरुभूमिमा चिसो वायुले पु¥याइरहन्छ खबर
उसको गुँड दोसाँधे रुखमा परेको छ
लडिरहेछ्न् दुई छिमेकी आफ्नो बनाउन ।
विचलित हुने निश्चित भयो बचेराहरु ।
च्यातिनै लागेको छ कानुनको पाना गल्दा– गल्दै
भिज्दैछन् संविधानका पाना निर्दोष आँसुले
रुवाइरहेछ देशलाई विरक्तिको धुनले जस्तै
शोकमग्न ,न्याय मागिरहेको सडकको आवाजले
खुइलिँदै गरेको देशको झन्डा
घट्दै गएको सगरमाथाको उचाई
धुलो जमेका बुद्धका पाउ
खियाले छोपेको खुकुरीका धारमा
रङ भर्ने सपना देख्दै बाँचिरहेछ देशले हराएको युवक ।
तपाईको कमेन्ट लेख्नुहोस्