Techie IT
Agni Khabar

मर्यादित महिनावारीबारे दुई दिने  पैरवी तालिम


अछाममा मर्यादित महिनावारी सम्बन्धी दुई दिने पैरवी तालिम गरिएको छ ।

स्थानीय सरकार तथा जिल्लास्थित सरोकारवालाहरुलाइ लक्षित गरी पौष ९ र १० गते मंगलसैनमा दुई दिने तालिमको आयोजना गरिएको हो ।

 

महिनावारीसम्बन्धी समाजमा विद्यमान गलत धारणा र भ्रमहरू चिर्दै यसको वास्तविक महत्वबारे सही जानकारी प्रवाह गर्ने उद्देश्यले समविकास नेपालले तालिमको आयोजना गरेको थियो ।

तालिममा मर्यादित महिनावारी अभियान्ता डा. राधा पौडेल र पत्रकार गोविन्द खड्का ले प्रशिक्षण गरेका थिए। प्रशिक्षणका क्रममा सहभागीहरूको भोगाइ, अनुभव र बुझाइसँगै जिल्लामा सञ्चालन भइरहेका महिनावारीसम्बन्धी गतिविधिबारे गहिरो छलफल गरिएको थियो ।

प्रशिक्षक डा. पौडेलले महिनावारी हुने जैविक प्रक्रिया र यसको सामाजिक तथा स्वास्थ्यगत महत्वबारे विस्तृत जानकारी दिँदै, महिनावारीका बेला आउने रगत सफा, शुद्ध र पवित्र हुने बताइन् । उनले यही रगतकै कारण मानव जीवनको जन्म सम्भव भएको उल्लेख गर्दै, महिनावारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सबैले बुझ्न र बुझाउन जरुरी रहेको धारणा राखिन्।

तालिममा जिल्लाका १० वटै स्थानीय तहका उपप्रमुख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुखहरू, सञ्चारकर्मीहरू तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

समविकास नेपालद्वारा आयोजित उक्त तालिममा सामाजिक विकास कार्यालय अछाम सहआयोजकको रूपमा रहेको थियो भने ग्रिनतारा नेपाल को सहकार्य रहेको थियो।

 




तपाईको कमेन्ट लेख्नुहोस्