Techie IT
Agni Khabar

कांग्रेस महामन्त्री थापाद्वारा स्व . लक्ष्मणादेवी तिमिल्सैनाप्रती  श्रद्धाञ्जली अर्पण 


नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल निजामती कर्मचारी युनियन संघका पूर्व केन्द्रीय उपाध्यक्ष शिवराज तिमिल्सैनाकी आमा तथा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य वेदप्रकाश तिमिल्सैनाकी दिवंगत बजै (हजुरआमा) लक्ष्मणादेवी तिमिल्सैना ४५औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

महामन्त्री थापा मंगलबार नेपालगञ्ज–१३ स्थित तिमिल्सैना निवास पुगेर दिवंगत आत्माप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, बाँके जिल्ला सभापति नारायण गौडेल, महासमिति सदस्य लक्ष्मीनारायण शाह , बाँके क्षेत्र नं. २ का सभापति रमेश गुप्ता, नेता कृष्णा सापकोटा र सबिन मुडभरी पनि सहभागी थिए।

स्व. लक्ष्मणादेवी तिमिल्सैना अछामको साविक कुइका–१, वरपिपल बुढेलीजरकी स्थायी बासिन्दा हुनुहुन्थ्यो। पछिल्लो समय नेपालगञ्ज उपमहानगरपालिका–१३, बुलबुलियामा बसोबास गर्दै आउनुभएकी उहाँको ९३ वर्षको उमेरमा उपचारको क्रममा २०८२ साल बैशाख ८ गते नेपालगञ्ज नर्सिङ होम (नेपालगञ्ज शिक्षण अस्पताल) मा निधन भएको परिवारले जनाएको छ। उहाँको अन्त्येष्टि २०८२ बैशाख ९ गते कर्णाली चिसापानी घाटमा सम्पन्न गरिएको थियो।

स्वर्गीय बलभद्र कठायतकी सुपुत्री तथा अछाम दैलेख क्षेत्रका राजनीतिक तथा सामाजिक व्यक्तित्व देवानन्द तिमिल्सैना कि धर्मपत्नी लक्ष्मणादेवी तिमिल्सैना धार्मिक क्षेत्रमा समेत गहिरो सरोकार राख्ने उहाँको १९९० साल बैशाख २३ गते अछामको मष्टाबण्डाली बजगाउको सिद्धेखेतमा भएको थियो । उहाँले बाल्यकालदेखि नै वैदिक ग्रन्थहरूमा रुचि राख्दै स्वअध्ययन र परम्परागत शिक्षाद्वारा धार्मिक ज्ञान हासिल गर्नुभएको थियो।

व्रतउपवास, पूजाअर्चना लगायतका धार्मिक अनुष्ठानमा उहाँको सक्रिय सहभागिता रहन्थ्यो। विशेषत गाउँ–सामुदायिकस्तरमा महिलामाझ धार्मिक चेतना फैलाउने कार्यमा उहाँको योगदान उल्लेखनीय रहेको परिवारजनले बताए।




तपाईको कमेन्ट लेख्नुहोस्