Techie IT
Agni Khabar

कमलबजारको यथार्थ : अपेक्षा अनुसारको उपलब्धी


भानु ढकाल , अछाम 

तिन बर्ष अघि २०७९ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि अछामको कमलबजार नगरपालिकाले नयाँ नेतृत्व पायो। नेपाली कांग्रेस बाट यज्ञ प्रसाद ढकाल नगरप्रमुख बने भने नेकपा एमालेकी शारदा कुमारी विष्ट उपप्रमुख पदमा निर्वाचित भइन्।

दुई फरक राजनीतिक दलबाट आएका यी जनप्रतिनिधि फरक विचारधाराका प्रतिनिधि मात्र थिएनन्, फरक पृष्ठभूमिबाट आएका दुई अनुहार थिए। नगर प्रमुख युवावस्थामै स्थानीय तहको नेतृत्व सम्हालिसकेका ( साविक मुली गाविसका निवर्तमान अध्यक्ष ) कांग्रेसको झण्डा समातेर हुर्केका एक सादा र शालीन व्यक्तित्व भएका , उपप्रमुख लामो समयसम्म शिक्षण पेसामा समर्पित, समाजप्रति गहिरो लगाव भएकी सभ्य ब्यक्तित्व भएकी महिला। प्रमुख यज्ञ प्रसाद ढकालको व्यक्तित्व सार्वजनिक सम्पत्तिमा स्वार्थ नराख्ने, प्रचारभन्दा काममा विश्वास गर्ने र सहकर्मीप्रति सम्मान दर्शाउने शैली छ। उपप्रमुख शारदा विष्टको कार्यशैली पनि इमानदारीपूर्वक काम गर्ने सादगीपूर्ण अनि निडर हक्कि स्वभाव रहेको छ।

निर्वाचनपछिको सपथ ग्रहण मिति २०७९ साल जेठ ७ गतेदेखि प्रारम्भ भएको यात्राले तीन वर्ष पुरा गरिसकेको छ।
तीन वर्षको यो अवधि एउटा स्थानीय सरकारको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । जहाँ घोषणापत्रका पानाबाट कामको जगसम्मको यात्रा छुट्याउन सकिन्छ, वाचा र व्यवहारबीचको दूरी मापन गर्न सकिन्छ।

कमलबजार नगरपालिका जसको ऐतिहासिक, भौगोलिक, राजनीतिक र सांस्कृतिक गरिमा विशेष छ । यहाँका जनताले २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका यज्ञ प्रसाद ढकाललाई नगरप्रमुख र नेकपा एमालेकी शारदा बिष्ट कुँवरलाई उपप्रमुखको जिम्मेवारी सुम्पिए।

यद्यपि उनीहरू फरकफरक राजनीतिक दलबाट निर्वाचित भएका थिए, जनतालाई सुनाएका एजेन्डा र प्रतिबद्धताहरू भने करिबकरिब उस्तै थिए । शिक्षा र स्वास्थ्य सेवा सुधार, आधारभूत पूर्वाधार विकास, कृषिमा आत्मनिर्भरता, युवा रोजगारी, महिलाको सशक्तीकरण, पर्यटन प्रवर्द्धन, र पारदर्शी स्थानीय शासन।

चुनावी नारामा देखिएका समानता र कार्यसम्पादनमा देखिने परिणामबीचको दूरी आजको सन्दर्भमा मूल्याङ्कन गर्नु आवश्यक छ। तीन वर्षे अवधिमा ती घोषणाहरू कति कार्यान्वयन भए? कुन वाचा केवल भाषणमा सीमित रहे? कुन क्षेत्रमा प्रगति भएको छ, र कहाँ अझै चुनौती कायम छन्? जनताले कसरी अनुभूत गरेका छन् यो नेतृत्वलाई?

हामि अग्निखबरमा कमलबजारको स्थानीय सरकारको तीन वर्षे स्थानीय उपलब्धि, असफलता र सम्भावनाको लेखाजोखा गर्नेछौं ।
हामी केवल तथ्यहरूको सूक्ष्म अध्ययन गर्दैछौं होइन, जनताको अनुभव, प्रतिक्रिया र भोगाइलाई पनि समेट्दैछौं।
यात्राको सुरुआतमा भएका प्रतिबद्धताहरूको छायाँ पछ्याउँदै, अब हामी हेर्दैछौं के कमलबजारले तीन वर्षमा साँच्चै ‘विकासको गति’ लिएको हो त? वा यो यात्रा पनि विगतकै जस्तो घोषणामा सीमित भएर बाँकी रहेको छ? अग्निखबरमा’ यही विषयमा चर्चा गरिनेछ ।

कमलबजार नगरपालिका नेतृत्वद्वारा निर्वाचनमा प्रस्तुत घोषणा पत्रमा कमलबजारलाई सुन्दर, सुसंस्कृत र समृद्ध नगर बनाउने सपना देखाइएको थियो । नगरपालिकाको मुकामसम्म पिच सडक पुर्याउने, कमलबजार विमानस्थल सुचारु गर्ने, इलाका प्रहरीको नयाँ भवन निर्माण गर्ने, खानेपानी समस्याको दिगो समाधान गर्ने, हरेक वडामा विद्युत् सेवा विस्तार गर्ने, ग्रामिण बस्तीसम्म सडक पुर्याउने र स्थानमै रोजगारी सिर्जना गर्ने जस्ता नाराले जनता उत्साहित थिए।

तीन वर्षको समग्र मूल्याङ्कन गर्दा, कामको गति मध्यम रहे पनि केही क्षेत्रमा ठोस प्रगति भएको देखिन्छ। नगरभित्र केही ग्रामिण सडक विस्तार भएका छन्, नयाँ ट्रान्सफर्मर जडानसँगै विद्युत सेवा बस्तीमा पुग्न थालेको छ। खानेपानीको समस्या समाधानका लागि कतिपय ठाउँमा जलाशय र पाइपलाइन विस्तारको काम अगाडि बढाइएको छ।

नगर प्रमुख ढकाल र उपप्रमुख विष्टको संयोजनमा योजनागत ढाँचामा विकास प्रयास गरिएकाले योजनाहरू पूर्णता तर्फ अघि बढिरहेका छन्।
यद्यपि, कमलबजार नगरपालिका–५ कुइकाको वरपिपल सेरोफेरोमा विद्युत सेवा विस्तार गर्ने कार्य अनि वरपिपल सणाकोट हुँदै कुइकागाढ जोड्ने सडक अझै अधुरै छ। रोजगारीको सवालमा केही तालिम र साना कार्यक्रमहरू भएका छन ।
विचार फरक भए पनि काममा समन्वय कायम राख्न सक्ने नगर प्रमुख उपप्रमुखको क्षमता नै कमलबजारको अहिलेको सफलताको मूल सूत्र देखिएको छ। तीन वर्षको अवधिमा घोषणा गरिएका योजनाहरूले अपेक्षित गति लिन सकेको भन्न सकिन्छ ।

नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयअनुसार वि.सं. २०७२ साल भाद्र ३० गते साविक वयाला, मुली, चाल्सा, ढाँकुसेरा र मष्टावण्डाली गाविसलाई समेटेर कमलबजार नगरपालिकाको औपचारिक घोषणा गरिएको थियो। प्रारम्भमा १० वडामा विभाजन गरिएको यस नगरपालिकालाई स्थानीय तह पुनर्संरचना आयोगको सिफारिसपछि साविकका विरपथ गाविस, कुईका वडा नं. १ देखि ५ र घोडासैन वडा नं. २, ३, ४ र ६ समेत समावेश गरी पुनः १० वडामा पुनर्गठन गरिएको हो।
पूर्वमा पञ्चदेवल विनायक नगरपालिका, पश्चिममा मंगलसेन नगरपालिका, उत्तरमा मंगलसेन नगरपालिका र रामारोसन गाउँपालिका तथा दक्षिणमा तुर्माखाँद र ढकारी गाउँपालिकाले घेरिएको कमलबजार, प्रशासनिक तथा भौगोलिक दृष्टिले अछाम जिल्लाको महत्वपूर्ण नगरपालिका हो ।

अछाम जिल्लाको अछाम २ नम्बर प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मुकाम अर्थात केन्द्र पनि कमलबजारमा अबस्थित छ ।

विकट भू–स्वरूप र पहुँचको कठिनाइका कारण लामो समयसम्म विकासको दृष्टिकोणले उपेक्षित रहँदै आएको यो क्षेत्र व्यावहारिक रूपमा केन्द्र भए पनि विकासको प्रवाहमा पछाडि परेको थियो।

तर पछिल्ला वर्षहरूमा कमलबजारले नयाँ पहिचान स्थापित गर्न थालेको छ। पहिले जसोतसो टिकाइएका संरचनाहरू अहिले योजनाबद्ध विकास, सेवा प्रवाहमा पारदर्शिता, जनसहभागितामा आधारित कार्यशैली र परिणाममुखी नेतृत्वका कारण सुदूरपश्चिममै उदाहरणीय बन्न थालेका छन्।

कमलबजार अब केवल भौगोलिक केन्द्र मात्र होइन, विकासको गतिशील केन्द्र बन्ने दिशामा अगाडि बढिरहेको छ।अछामको कमलबजार नगरपालिकाले पछिल्लो समय अभूतपूर्व प्रगति हासिल गरेको छ। भौगोलिक र भौतिक चुनौतिका बाबजुद, यहाँका जनप्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा जनसाधारणले सक्रिय सहभागिता जनाउँदै विकासका विविध परियोजनाहरू सफलतापूर्वक अघि बढाएका छन्। यी सबै कामका केन्द्रमा रहेकै छन् कमलबजारका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, जसको कुशल नेतृत्व र परिश्रमले उपप्रमुख शारदा बिष्ट कुवर लगायत जनप्रतिनिधि लाइ साथमा लिएर कर्मचारी संगको समन्वयमा कमलबजारलाई सुदूरपश्चिमको नमूना नगरपालिका बनाउने अभियानले तिब्रता पाएको छ।

कमलबजार विमानस्थल निर्माण सुरु भएको तिन दशक भयो। २०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडानसमेत भर्न नपाउँदै बन्द भएको थियो। निर्माण सुरु भएको लामो समयसम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरेर स्तरोन्नति गरिएको थियो। निर्माण सम्पन्न भएको पनि लामो समय भयो तर अहिलेसम्म विमानस्थलको आधिकारिक सुचीमा पनि समेटिएको थिएन। यो पटक अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) को सूचीमा समावेश गरे आधिकारिक परिक्षण उडान गरेर अहिले हरेक आइतवार ब्यावसायिक उडान भैरहेको छ। यो नै नगर प्रमुख यज्ञ प्रसाद ढकालको तिन बर्षे कार्यकालको कोशेढुंगा हो।

कमलबजारमा विमानस्थल सञ्चालनमा ल्याइएको खबरले यहाँका सबै वर्गका जनतामा उत्साह थपिएको छ। लामो समयदेखि स्थानीय जनताले हवाइ यातायातको सुविधा नहुँदा भोग्नु परेको कठिनाइहरु अब अन्त्य भएको महसुस गरेका छन्। यसले अछाम र तराइको दुरि छोटो बनाएको छ। यस सम्बन्धमा स्थानीय व्यापारीहरुले भने, “हाम्रो सामान र उत्पादन बजारसम्म छिटो र सजिलै पुग्ने भयो। यसले व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो अपेक्षा छ।”

नगर प्रमुख ढकालको नेतृत्वमा विकासका अरु पनि महत्त्वपूर्ण काम सफल भएका छन्। ढकाल र बिष्ट कुवरले हरेक क्षेत्रमा विकास र समृद्धिका योजना हरु प्राथमिकतामा राख्दै स्थानीय जनताको प्रत्यक्ष आवश्यकता र सुझावलाई उच्च प्राथमिकता दिएका छन्। नगरपालिकाको सडक पूर्वाधारमा भएका परिवर्तनहरू त्यसको प्रत्यक्ष उदाहरण हुन्। गैरिटाँडदेखि कमलबजार नगरपालिकाको केन्द्र हुँदै तुर्माखाँद गाउँपालिकाको बाकाँडासम्मको २३ किलोमिटर सडक कालोपत्रेको अन्तिम चरणमा पुगेको छ। पूर्वाधार क्षेत्रमा भएको यस प्रगतिको कारण सडक यातायात मात्र हैन, यहाँका सर्वसाधारण नागरिक, कृषक र व्यापारीहरूलाई राहत मिलेको छ। सडकको गुणस्तर र छिटो हुनमा नगर प्रमुख ढकालको नेतृत्व अनि उप प्रमुख शारदा बिष्ट कुवरको दृढ साथ रहेको जनाइएको छ।

कमलबजार नगरपालिकाको नेतृत्वले जनताको आवाजलाई नेतृत्वका माध्यमबाट उचित निकायसम्म पुर्‍याउने र समस्याको तत्काल समाधान खोज्ने शैली अपनाएको स्थानीय बुद्धिजीवीहरू बताउँछन्। कमलबजार नगरपालिकामा रहेका धेरै घरहरूमा “एक घर एक धारा” योजना कार्यान्वयन गरिएको छ। यो परियोजना अन्तर्गत हरेक घरमा खानेपानी सेवा पुर्‍याइने काम भएको छ। खानेपानीको अभावले विगतमा यहाँका महिला, बालबालिका, स्कुले बिद्यार्थी र वृद्धवृद्धालाई धेरै समस्या परेको थियो। तर अहिले डिप बोरिङ सञ्चालन गरेर खानेपानीको समस्या धेरै हदसम्म समाधान भइसकेको छ।

स्थानीय एक समाजसेवी भनिन्, “पानीको पहुँच भएपछि हाम्रो दैनिकी धेरै सहज भएको छ। छोराछोरी स्कूल जान्छन्, घरायसी काम गर्न सजिलो भएको छ। यज्ञ प्रसाद ढकाल र शारदा बिष्ट जस्ता नेताहरूले यस्ता प्राथमिकताका कार्य सफल गराएका छन्।”

नगरपालिकाको मुकाममा शहरी आँखा उपचारका केन्द्र स्थापना गरिएको छ जुन कमलबजारकै अर्को महत्त्वपूर्ण उपलब्धि हो। यसले आँखासम्बन्धी रोगहरूको उपचार स्थानीय तहमै हुने भएकाले जनतालाई ठूलो राहत मिलेको छ। सामान्य आँखा उपचारका लागि पनि कैलालीको गेटा र नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ। स्वास्थ्य सेवा सुधारका लागि काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ भने गेटा आँखा अस्पताल र जिल्ला अस्पतालसँग समन्वय गरी नियमित रूपमा आँखा शिविर पनि सञ्चालित छ। हालै तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा आयोजित शिविरले सयौं लाई निःशुल्क उपचार उपलब्ध गराएको छ।
कमलबजार नगरपालिका कृषि तथा पशु सेवाका क्षेत्रमा पनि सक्रिय छ । नगरको कृषि तथा पशु सेवा शाखा अन्तर्गत चालु आर्थिक वर्षमा पशुपालन र कृषिमा संलग्न ४ वटा फर्म र ९ जना किसानलाई कुल रु. ५ लाख ४० हजार बराबरको प्रोत्साहन अनुदान वितरण गरेको छ।

फर्महरूलाई कुल रु. ३ लाख र व्यक्तिगत किसानहरूलाई रु. २ लाख ४० हजार बराबर अनुदान प्रदान गरिएको छ। पशुपालनमा सक्रिय रहेका फर्महरूले बाख्रा र दुहुना भैंसी पालन गरेका छन् भने कृषकहरूले धान, मास र कोदो उत्पादन गरेका छन ।
कमलबजार नगरपालिकाको वर्तमान नेतृत्वको प्रयासमा द्वन्द्वको समयमा विस्थापित खाद्य डिपो पुनर्स्थापना गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ। यस विषयमा नगर प्रमुख ढकालले भने “खाद्य डिपो पुनर्स्थापना गर्दा स्थानीय बासिन्दा र व्यापारीलाई ठूलो फाइदा हुनेछ। विपतको बेला खाद्यान्नको उचित व्यवस्थापनले जनतालाई राहत पुग्नेछ।”

सुरक्षा संरचनामा पनि उल्लेखनीय प्रगति भएको छ। सुविधा सम्पन्न इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न गरी सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाइएको छ। नयाँ कार्यालय भवनले प्रहरी सेवामा आधुनिकता र व्यावसायिकता थप्ने विश्वास नगरप्रमुख ढकालले व्यक्त गरेका छन। इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्द पनि नगर प्रमुख बिष्टको भनाइ संग सहमत छन । “नयाँ भवनमा सुविधा धेरै भएको हुँदा हाम्रो काम लाइ सहज बनाएको छ । “उनले भने – सेवाग्राही लाइ पनि सजिलो छ ।”

खेलकुद क्षेत्रमा पनि विकासको गति तीव्र छ। चौके गडा खेलमैदानलाई बृहत् खेलमैदानको रुपमा विकास गरिएको छ भने निर्माणाधीन कभर्ड हलको निर्माण कार्य पनि सम्पन्न भएको छ। यसले स्थानीय युवा तथा खेलप्रेमीहरूलाई ठूलो अवसर प्रदान गर्नेछ। यज्ञ प्रसाद ढकालको नेतृत्वले यस्ता सामुदायिक विकासमा ठुलो योगदान पुर्‍याएको छ।”

एक जना स्थानीय बुद्धिजीवीले भने, “कमलबजारको तीव्र विकासमा नगर प्रमुख यज्ञ प्रसाद ढकालको नेतृत्वले निर्णायक भूमिका खेलेको छ। जनताको आवाजलाई प्राथमिकता दिएर विकासका योजनाहरू अघि बढाइएको छ, जुन अत्यन्त प्रशंसनीय छ।” उनका अनुसार “शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुरक्षा सबै क्षेत्रमा भएका यी प्रगतिको निरन्तरता हुनुपर्छ। यज्ञ प्रसाद ढकाल र शारदा बिष्ट जस्ता नेतृत्वकर्ताहरूले जनतामा विश्वास जगाउनु भएको छ, र यसले आगामी दिनमा पनि विकासका नयाँ आयामहरू खोल्नेछ।”

समाजसेवी हरि विक भन्छन्, “स्थानीय सरकार र जनसहभागिताको समन्वयमा भएका यी कामहरूले यहाँको सामाजिक विकासलाई गति दिएका छन्। कमलबजार नगरपालिकाको यी समृद्धिका वाहक नगर प्रमुख यज्ञ प्रसाद ढकालले स्थानीय जनताको जीवनस्तर उकास्न मात्र हैन, समाजमा आत्मविश्वास र सामूहिक पहलकदमी पनि जागृत गराएका छन। जनताले देखाएको विश्वास र नगर प्रमुख ढकालको समर्पणले यज्ञ प्रसाद ढकालको नेतृत्वमा यसको उज्ज्वल भविष्यको आशा सबैमा छ।
कमलबजार नगरपालिका, अछाम जिल्लाको प्रशासनिक दृष्टिले महत्वपूर्ण नगरपालिका हो, जहाँ विकासको लय पछिल्लो समय उल्लेखनीय देखिएको छ। यस नगरपालिकामा स्थानीय र अनुभवी व्यक्तिहरूको प्रशासनिक नेतृत्वमा आगमनसँगै अझ बढी सकारात्मक परिणामको अपेक्षा गरिएको छ।

नगर प्रमुख तथा जनप्रतिनिधिहरूको निर्णय कार्यान्वयन गराउने प्रशासकीय पाटोको जिम्मेवारी मुख्यतया प्रमुख प्रशासकीय अधिकृतको काँधमा हुन्छ। । अछाम जिल्लाको प्रशासनिक दृष्टिले महत्त्वपूर्ण मानिने कमलबजार नगरपालिकामा सुशासन स्थापनाका लागि विभिन्न शाखा तथा तहका कर्मचारीहरू सक्रिय भएर काम गरिरहेका छन्। विशेषगरी स्थानीय तहको प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउन, सेवा प्रवाहलाई सहज, पारदर्शी र जनउत्तरदायी बनाउन कर्मचारीहरूको भूमिकालाई नगरवासीले सकारात्मक रूपमा लिएका छन्।
कमलबजार नगर पालिकाको कार्यपालिकाको प्रमुख पकर्मचारीको नेतृत्व सम्हालिरहेका प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर शाहीको नेतृत्वमा नगरपालिकाको कार्यसम्पादन झनै प्रभावकारी बन्दै गएको छ । लामो समय जिल्लाका शिक्षा कार्यालयहरूमा प्रभावशाली भूमिका निर्वाह गरिसकेका शाहीसँग स्थानीय तहमा कार्यालय प्रमुखका रूपमा काम गरिसकेको अनुभव पनि छ। हालसालै कमलबजार नगरपालिकामा नियुक्त भएका शाहीले नगरपालिकाको नीति, योजना र बजेट कार्यान्वयनमा उल्लेखनीय तत्परता देखाएका छन्।

प्रमुख प्रशासकीय अधिकृत शाही प्रशासनिक अनुशासन, समन्वय र पारदर्शितामा विश्वास राख्ने अधिकारीका रूपमा चिनिन्छन्। कार्यालय सञ्चालन, योजना कार्यान्वयन, मानव संसाधन व्यवस्थापन, र जनतासँगको प्रत्यक्ष संवादमा उहाँले अपनाउँदै आएको नीतिगत स्पष्टता र समर्पणले नगरपालिका भित्रको कार्य प्रणालीमा सकारात्मक ऊर्जा थपिएको देखिएको छ।

यसैबीच, नगरपालिका अन्तर्गतको लेखा शाखालाई इमानदारीपूर्वक सम्हाल्दै आएका कर्मचारी नेत्र बहादुर थापा पनि अछाम जिल्लामा इमानदार र कुशल कर्मचारीको रूपमा चिनिन्छन्। केही वर्षदेखि कमलबजार नगरपालिकाको आर्थिक प्रशासनमा सक्रिय थापा बजेट कार्यान्वयन, खर्चको पारदर्शिता, राजस्व संकलनमा सुशासनको अभ्यास गर्दै आइरहेका छन्।

नगरपालिकाका विकास निर्माण तथा सामाजिक सेवा योजनाहरू लेखा प्रणालीमार्फत कानुनी र प्रक्रियागत ढंगले सञ्चालन गर्न थापाले विशेष भूमिका निर्वाह गर्दै आएका छन्। स्थानीय स्रोतको अधिकतम प्रयोग, बजेटको प्रभावकारी व्यवस्थापन तथा अनियमितता न्यूनीकरणमा लेखा शाखाले प्रस्तुत गरेको प्रतिबद्धता आम सर्वसाधारणबाट समेत प्रशंसा पाउँदै आएको छ।

त्यस्तै, सुशासन स्थापनामा शिक्षा क्षेत्रको भूमिकालाई पनि नगरवासीहरूले महत्वपूर्ण मानेका छन्। कमलबजार नगरपालिकाको शिक्षा शाखाको जिम्मेवारी सम्हाल्दै आएका ऋषी ढकाल लामो समयदेखि स्रोत व्यक्ति (आरपी) का रूपमा शिक्षाक्षेत्रमा खारिएका अनुभवी कर्मचारी हुन्।

ढकालले स्रोत व्यक्तिको अनुभवका आधारमा अहिले शिक्षा शाखालाई नीतिगत तथा प्राविधिक रूपमा बलियो बनाउँदै आएका छन्। शिक्षक व्यवस्थापन, विद्यालय अनुगमन, शैक्षिक गुणस्तर सुधार, पाठ्यपुस्तक वितरण, बालमैत्री वातावरण सृजना तथा शिक्षक तालिम सञ्चालनमा उनको सक्रियता देखिएको छ।

ढकालले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा कार्यालय र नगर शिक्षा समिति बीच प्रभावकारी समन्वय गर्दै, शिक्षा योजनाको कार्यान्वयनलाई सरल र नतिजामूलक बनाएका छन्। उहाँले विशेष गरी ग्रामीण क्षेत्रका विद्यालयहरूमा शिक्षाको पहुँच तथा गुणस्तर सुधारमा ध्यान केन्द्रित गरेका छन्।

तीनै कर्मचारी प्रमुख प्रशासकिय अधिकृत शाही, लेखा शाखा प्रमुख थापा र शिक्षा शाखा प्रमुख ढकाल को संयोजन, समर्पण र अनुभवले गर्दा कमलबजार नगरपालिका पछिल्ला वर्षहरूमा पारदर्शिता, उत्तरदायित्व र जनमैत्री प्रशासनमा उदाहरणीय बन्दै गएको छ।

स्थानीय सरकारमा नगरप्रमुख लगायत जनप्रतिनिधि संगको समन्वयमा कमलबजारका कर्मचारीहरूको
सक्रियता र जवाफदेहिताको अभ्यासले आगामी दिनमा कमलबजारलाई अछाम जिल्लाकै नमुना नगरको रूपमा उभ्याउने विश्वास नगरवासीहरूले व्यक्त गरेका छन ।




तपाईको कमेन्ट लेख्नुहोस्